जनयुद्ध दिवसमा बिर्सिएका सहिद परिवार

दिनेश सुवेदी|मङ्गलबार, ०१ फागुन २०७४

रोल्पा - विस २०५२ साल फागुन १ गते औपचारिक भुमिगत भएको माओवादीले रोल्पाका केही ठाउँमा औपचारिक कार्यक्रम गरेर जनयुद्ध दिवस मनाएपनि सुनसान रह्यो। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भने थवाङमा ठुलै कार्यक्रम ग-यो। युद्धताका र शान्ति स्थापना पछिका केही बर्ष बिहानैदेखि हुने चहलपहल अहिले शुन्य जस्तै छ। रोल्पा बाहिरिने र भित्रिने सवारी साधनमा बसेका यात्रुलाई टिका लगाउँदै शुभकामना साट्नेहरु पनि औपचारिकता मात्रै निभाइरहेको भेटिए।

रोल्पाको दुर्गम गाउँ गाम जहाँ तत्कालिन युद्धताका ठुला ठुला भीडन्त भएका थिए भने माओवादीले बाटोको रुपमा प्रयोग गरिएको ठाउँ हो। यताउता गर्दा एक दुई रात बिसाउनीका रुपमा प्रयोग हुने यहाँ प्रायः सबै नेतृत्वले टाउको लुकाएका थिए। राज्यपक्षबाट ४१ जना मारिएको यहाँ विद्रोही पक्षबाट ७ जनाको ज्यान गुमेको थियो। तर आज पनि गाम ओझेल परेको बस्ती जस्तै निरस छ। फागुन १ मा कोही कसैले गामलाई सम्झिएन। सधै जस्तै सुनसान भयो। 

२०५९ साल आसोज ६ गते बारिमा हलो जोत्दै गरेका ४९ वर्षीय श्रीमान सुकमन कामीलाई छिमेकी गाविस सेरमको घुस्बाङमा लगि गोली हानेर मारेको सुनेकी ६० वर्षीया लालमता कामीले शव भने पाईनन्। ‘एकै दिन १२ जना गमालीलाई लगेर मा¥या हुन्। सबैले म¥यो भने। लास नपाए पनि मरेको मानियो,’ लालमताले सुनाईन। ‘असोजमा जोडालाई मारे, त्यही फागुनमा प्यूठान मजदुरी गर्न हिडेको छोरा २० वर्षीय नरबहादुर विकलाई पनि वेपत्ता बनाए,’ लामो सास फेर्दै भनिन्। ६ महिनाको अन्तरालमा श्रीमानको हत्या अनि छोरा वेपत्ता भएपछि लालमता विक्षिप्त बनिन। श्रीमानको शव नदेखेपनि छोरा आउने आशमा धेरै बसिन तर अब आउँदैनकी जस्तो लाग्न थालेको छ। 

२०५९ सालपछि निम्न आर्थिक अवस्थाले लालमताको परिवार झनै तङ्ग भङ्ग भयो। आर्थिक जोहो गर्ने श्रीमान हत्याको पीडा भोगेको ६ महिनापछि आशाको त्यान्द्रो छोरा पनि वेपत्ता भएपछि बाटो हेर्दैमा १५ वर्ष वित्यो। छोरासँगै प्यूठान मजदुरी गर्ने कसैले खुसुक्क छोरा वेपत्ता बनाएको खबर पठाएपछि जानकारी पाएकी लालमताले न छोरा खोज्न सकिन, न त कसैले खोजी दियो। ‘हाम्रा लागि कसले के गथ्र्यो र? ठूला, धनी भएको भए पो। न हाम्ले मान्छे चिन्या छम, न त हाम्रो कोही छ।’ हाल कान्छा छोरा बुहारी सँगै बसेकी गाम ७, बाहिरी गामकी लालमता कामी न्यायको खोजीमा छिन्। 

२०५९ साल असोज ६ गते सुकमन कामी जस्तै कुम्वीर घर्तीलाई पनि सेरमको घुस्बाङ लगेर मारियो। ‘मकै भाच्न बुढा बुढी गाथ्यौं। पाङबाङ खोलामा झरेको सेनाले जोडालाई फर्काएर लग्यो। म घर आए। पछि पो थाहा भो घुस्बाङ लगेर मारेछन्।’ ७० वर्षीया बेल घर्तीले सुनाइन। उमेर कम्तीमा ६ दशक नाघेका लालमता कामी, बेल घर्ती, ओवसरा घर्ती, नौमाला घर्ती, खगी घर्तिनी, वीरमाला घर्ती, भिङमा घर्ती हातमा श्रीमानको मृत्यु दर्ता प्रमाण पत्र बोकेर न्यायको खोजीमा हिँडिरहेका भेटिन्छन। 

माओवादीको भाषामा राजनीति चेतना स्तर उठेको समाज। दुई छाक र एक सरोको जोहो मै दैनिकी संचालन गर्न विवस रोल्पामा अहिले युवाहरुको अभाव बढ्दो छ। कति द्वन्द्वका समयमा मारिए भने कति युवा विदेशीए। अहिले पनि रोल्पालीहरु हिजो द्वन्द्वका कारण पढ्न नपाएको परिणाम स्वरुप विदेशीन बाध्य छन्। जनताका लागि गर्छौ भन्नेहरुले केही सकारात्मक गर्न नसकेपछि रोल्पालीहरु निराश बनेका छन्। उनीहरुको अपेक्षा छ रोल्पामा अब केही होस। स्थानिय सरकारले आफ्ना लागि केही गरोस।


यसमा तपाईको मत